विकासका लागि ली क्वान जति कठोर बन्न सक्दिनँ : प्रधानमन्त्री

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सम्पूर्ण जीवन लोकतन्त्रका लागि समर्पित गरेको उल्लेख गर्दै आफ्नो सरकार तानाशाही हुनै नसक्ने बताएका छन्। सरकारका पछिल्ला कदमबारे प्रतिपक्षी कांग्रेस र जनस्तरमा समेत आलोचनाका स्वर सुनिएका बेला प्रधानमन्त्रीले सरकारको बचाउ गरेका हुन्।

नेपाललले अरुका अनुभवबाट सिक्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने- ‘कुनै प्रकारको डिक्टेटर हामीलाई चाहिँदैन।’

मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाललाई कुनै पनि प्रकारको तानाशाह स्वीकार्य नहुने बताए। ‘कतिपय मानिसहरू ली क्वान यूको नेतृत्वमा सिंगापुर विकसित भयो भन्छन् तर म विकासका लागि ली क्वान जति कठोर हुन सक्दिन’, प्रधानमन्त्रीले भने, ‘सारा जिन्दगी लोकतन्त्रप्रति समर्पण गरेको हुनाले लोकतन्त्रप्रति मेरो बढ्ता मोह, स्नेह र आशक्ति पनि छ। लोकतन्त्रका बाटोहरुलाई कुल्चिने बाटोमा म हिँड्दिनँ।’

आफूले जे गरे पनि लोकतन्त्र हुने र अरुले गरे अलोकतान्त्रिक भन्ने प्रवृत्ति रहेको उनको भनाई छ। ‘कुनै दलले जे गरे नि लोकतन्त्र हुने, अरुले केही नगरे पनि लोकतन्त्र नहुने…’, प्रधानमन्त्रीले भने, ‘त्यस्ता परिभाषा आउटडेटेड भए।’

प्रतिपक्षी कांग्रेसले सरकार अधिनायकवादी भयो भन्दै जनता तर्साउन खोजेको प्रधानमन्त्रीको आरोप छ। ‘अधिनायकवादको बुख्याचा गाड्दै जनता तर्साउन खोजिएको छ’, प्रधानमन्त्रीले भने, ‘यो लोकतन्त्र हामीलाई कसैले किस्तीमा हालेर दिएको होइन, वर्षौ/दशकौँ लडेर हामीले ल्याएको हो।’

आफ्नो सरकार बनेपछि बिनाकारण संसद अवरुद्ध गरिएको र कानुन बन्न ढिला गरिएको भन्दै प्रधानमन्त्रीले कांग्रेसप्रति रोष व्यक्त गरे। ‘फटाफट काम नभएपछि सरकार कता अल्मलियो भन्न थालियो’, प्रधानमन्त्रीले भने, ‘लोकतन्त्र अराजकताको गञ्जागोल होइन।’

Leave A Reply

Your email address will not be published.