मेयर आचार्य द्वारा शिसुवा सिसाघाट सडकको शिलान्यास

तुल्सि मिडिया,पोखरा

पोखरा महानगरपालिका वडा नं.३० शिशुवाचोक देखी खुदीखोला पुलसम्म डबल लेन सडक निर्माण गरिने भएको छ । विश्व बैङ्कको अनुदान सहयोगमा करिब ४.१४ किमी सडक निर्माण गर्न लागिएको हो । पोखरा ३२ लाई जोड्ने उक्त सडक निर्माण कार्यको बिहीबार शिलान्यास गरिएको छ ।

उक्त क्षेत्रमा सुविधा सम्पन्न सडक निर्माण गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । सडक निर्माण पश्चात् त्यस क्षेत्रका नागरिकहरूलाई आवतजावत गर्न र कृषिजन्य उपजको ढुवानीका लागि सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नगर क्षेत्रको पूर्वाधार विकासका लागि महानगरपालिका निरन्तर लागिरहेको बताउँदै उहाँले यसका लागि सकारात्मक सहयोग गर्न नगरवासीहरूलाई आह्वान समेत गर्नुभयो । पोखरा–३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले वडामा नमुना सडक निर्माण गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, पोखरा महानगरपालिका वडा नं.२७ र वडा नं.३२ का वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

विश्व बैङ्कको ३४ करोड ११ लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने सडक दायाँबायाँ ७/७ मिटर सडक लेन (अस्फाल्ट पिच), २.५ मिटर फुटट्रयाक, १.५ मिटर साइकल लेन र दुवै तर्फबाट नाला निर्माण हुनेछ । सडकको दायाँबायाँ स्मार्ट सडक बत्तीहरू जडान गरिने छन् ।

आशिष निर्माण सेवा प्रा.लिले उक्त सडक २०८२ असार मसान्त सम्म निर्माण सम्पन्न गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *