औपचारिक रुपमा घोषणा भयो पोखरा पर्यटनको राजधानी


facebook sharing button
sharethis sharing button

देशकै मुख्य पर्यटकीय स्थलको रूपमा रहेको गण्डकी प्रदेशको राजधानी पोखरालाई आइतबार पर्यटकीय राजधानी घोषणा गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहका बीचमा पोखरालाई पर्यटकीय राजधानीको रूपमा घोषणा गर्नुभएको हो।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको पर्यटकीय क्षेत्रको प्रबद्र्धन र पर्यटक आगमनको महत्वपूर्ण भूमिका खेल्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अब नयाँ व्यवस्थापनअनुसार अघि बढाइने पनि बताउनुभयो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक समन्वय गर्दै नयाँ व्यवस्थापनअनुसार अगाडि बढाउन लागेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय उडानका लागि सरकारले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । पोखरामा नियमित उडान र खर्चबारे नयाँ ढंगबाट व्यवस्थापन गर्ने संकल्प गरेको जानकारी तपाईंहरू समक्ष गराए ।’

सोही क्रममा उहाँले केही समयअघि आफ्नो चीन भ्रमणमा कोरला नाकाका निम्ति आवश्यक पर्ने संरचना चीन सरकारले बनाउने कुरा भएको जानकारी पनि दिनुभयो। मुग्लिन–पोखरा सडक खण्ड निर्माणका लागि आफू निकै गम्भीर भएर लागेको र सिंहदरबारको ‘एक्सन रुम’बाटै अवलोकन गरी निर्देशन दिएको पनि उहाँको भनाइ थियो ।

पर्यटकीय क्षेत्र गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा विविधताले भरिपूर्ण रहेका कारण देशको आर्थिक विकासमा अब नयाँ आयाम थपिएको हो । पर्यटकीय राजधानी घोषणासँगै अब आम नेपालीले पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय स्थल बनाउनका लागि लाग्न प्रचण्डले आग्रह गर्नुभयो।

पर्यटकीय राजधानी घोषणासँगै अब पोखराको व्यवसाय २४ सै घण्टाका लागि खुल्ला गरिएको छ। पोखराको मुख्य बजार क्षेत्रमा सुरुवाती समयमा मनोरञ्जनका क्षेत्रलाई २४ सै घण्टा खुल्ला गरिएको छ भने रेस्टुराँ, किराना पसल, स्पा, खाजा घर भने रातको एक बजेसम्म खुल्ला भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।

उहाँले विशेष सुरक्षाका साथ आइतबारदेखि नै उक्त निर्णय लागु भएको जानकारी दिँदै भन्नुभयो– ‘पोखराको लेकसाइड इलाका, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्वाध रूपमा खुल्नेछन्’ ‘साथै डिस्को, दोहोरी, लाउन्ज, लाइभ म्युजिकजस्ता व्यवसायहरू रातभर खुल्ने कुरा पनि म जानकारी गराउन चाहन्छु।’

उहाँले गण्डकी प्रदेशका सूचीकृत पर्यटनको विकास गर्दै प्रदेश सरकार र महानगरको सहकार्यमा केही नयाँ योजनाहरूसमेत शुरू गरिने पनि बताउनुभयो।

राउन्ड फेवा, भिउफेवा टे«किङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्ने कार्य अघि बढाउने, बेगनास तालमा क्रुजसिप सञ्चालन, पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण, बृहत् ध्यान केन्द्र निर्माण, पोखरा विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा सञ्चालन गर्ने गरी प्रदेश सरकार र पोखरा महानगरबीच सहकार्य भई नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गरिने बताइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलको खाँचो रहेको जिकिर गर्दै संघ सरकारले सहजीकरण गरिदिन प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभयो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अब पोखरा औपचारिक रूपमै पर्यटकीय राजधानीको रूपमा परिचित भएको सुनाउँदै पोखराको विकासले नयाँ छलाङ मार्नेमा आशावादी रहेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *