शंखेकिराले धुरुक्कै

0

विराटनगर : शंखेकिराको प्रकोपले मोरङको लेटाङ नगरपालिका–९ जाँतेका किसान समस्यामा परेका छन्। तरकारी, फलफूल, धानलगायत खाद्य तथा नगदे बालीमा ठूलो आकारको शंखेकिराको प्रकोप बढ्दै गएपछि उनीहरूले स्थानीय सरकारसँगको समन्वयमा नियन्त्रण अभियान चलाएका छन्।

स्थानीयका अनुसार बाली जोगाउनका लागि शंखेकिरा खोजीखोजी गाड्न थालिएको छ। यो किरा धेरै संख्यामा पाइन थालेपछि जम्मा पार्दै नुन हालेर जमिनमा गाड्न थालिएको वडासदस्य इन्द्र ढकालले सुनाए। उनका अनुसार नुनले शंखेकिरा मर्ने भएका कारण खाल्डा खनेर पुर्नुअघि नुन हाल्ने गरिएको हो। ‘शंखेकिराको प्रकोपले बालीनाली सखाप हुन लाग्यो’, उनले भने, ‘त्यही भएर शंखेकिरा नष्ट गर्ने अभियान चलाइएको हो।’

उनका अनुसार एक किलो किरा संकलन गरे २५ रुपैयाँ वडा कार्यालयले उपलब्ध गराइरहेको छ। ‘वडा कार्यालयको आर्थिक सहयोगमा प्रतिकिलो २५ रुपैयाँका दरले किरा संकलन गरी नुन छर्किंदै पुर्ने अभियान चलाइएको छ’, उनले भने। वडा कार्यालयले शंखेकिरा नियन्त्रण कार्यक्रमलाई बजेटमै समेटेको जनाइएको छ।

वडाध्यक्ष कृष्णप्रसाद लुइँटेलका अनुसार शंखेकिराको संख्या बढ्दै गएका कारण यसले भविष्यमा ठूलो क्षति पु¥याउने सम्भावना बढेपछि समयमै नष्ट गर्न थालिएको हो। यसले बाली उम्रिनेबित्तिकै नष्ट गर्ने उनको भनाइ छ। स्थानीय किसान खगेन्द्रप्रसाद निरौलाले शंखेकिराले बन्दा, बोडी, करेला, भिन्डीलगायत तरकारी बाली नष्ट गरिदिएको बताए। ‘अहिले जताजतै शंखेकिरा मात्र देख्न पाइन्छ’, उनले भने, ‘यसले तरकारीको सबै पात र डाँठ खाइदिएर धुरुक्कै बनाइसक्यो।’

जाँते तरकारी खेतीका लागि उर्वर क्षेत्र मानिन्छ। शंखेकिराको प्रकोपका कारण तरकारी उत्पादनमा ह्रास आउन थालेपछि किसान चिन्तित बन्दै गएको उपमेयर कृष्णकुमारी निरौलाले बताइन्।क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार जाडोमा सुषुप्त अवस्थामा माटोमुनि बस्ने शंखेकिराले गर्मी लागेपछि भने बाहिर निस्किएर बालीनाली नष्ट गर्छ।

‘अन्यजस्तो शंखेकिरालाई विषादी हालेर मार्न नसकिने भएका कारण नियन्त्रणको भरपर्दो कुनै उपाय छैन’, उनले भने, ‘समुदाय नै सक्रिय भएर संकलन गर्दै मारेर गाड्नु नै उत्तम विकल्प हुनेछ।’ एकपटकमा सयौं अण्डा पार्ने र त्यहीबाट बच्चा जन्मिने भएका कारण शंखेकिरा हरेक वर्ष बढ्दै जाने उप्रेतीको भनाइ छ। ‘यसले एकपटकमा १ हजार ६ सयसम्म अण्डा पार्छ’, उनले भने। नुन हालेर शंखेकिरा मार्न सकिने भए पनि माटो बिगार्ने, उत्पादनमा ह्रास आउने र अम्लियपन बढाउने भएकाले जमिनमा भने धेरै नुनको प्रयोग गर्न नहुने उनको सुझाव छ।

Leave A Reply

Your email address will not be published.