दोस्रो अन्तर्राष्ट्रिय तमु संवाद शृंखला शुक्रबारदेखि

0

१७ असोज २०७७, पोखरा

दोस्रो अन्तर्राष्ट्रिय तमु (गुरुङ) संवाद शृंखला शुक्रबारबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण यसपटकको संवाद शृंखला भर्चुअल (जुममार्फत) गर्न लागिएको हो । कार्यक्रमबारे जानकारी दिन शनिबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो ।

शुक्रबारबाट चार दिनसम्म (९ देखि १२ अक्टोबरसम्म) चल्ने संवाद शृंखलामा विभिन्न विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । साँझ ५ बजे पहिलो र ७ बजेबाट दोस्रो सेसन सुरु हुनेछ । 

अन्तर्राष्ट्रिय तमु (गुरुङ) परिषद्को आयोजनामा गत वर्ष काठमाडौंमा पहिलो तमु संवाद आयोजना गरिएको थियो । देश तथा विदेशमा छरिएर रहेका गुरुङ समुदायबीच निरन्तर संवाद र ज्ञान सीप बाँड्ने उद्देश्यले तमु संवाद शृंखलाको आयोजना गर्न लागिएको गुरुङ समुदायको छाता संस्था तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले बताए । 

‘हामीले यो शृंखलाको आयोजना गर्न सुरु गरेको दोस्रो वर्ष मात्रै भएको छ । आगामी वर्ष पनि यो कार्यक्रम निरन्तर आयोजना हुनेछ,’ अध्यक्ष गुरुङले भने, ‘आगामी वर्ष अरू देशमा पनि यो कार्यक्रमको आयोजना गरिनेछ ।’ 

उनका अनुसार यो संवाद शृंखलामा विभिन्न ३५ देशबाट गुरुङ व्यक्तित्वहरू सहभागी हुनेछन् । त्यसमध्ये धेरैले कार्यक्रम सञ्चालनमै भाग लिनेछन् । संवादको प्रत्येक दिन फरक विषयमा दुई सेसन सञ्चालन हुनेछन् । पहिलो दिनको पहिलो सेसनमा ‘ङै नासा ट्हो’ अर्थात् मेरो गाउँघर भन्ने शीर्षकमा छलफल हुनेछ । यो शीर्षकमा १८ जना वक्ताले आफ्नो प्रस्तुति दिनेछन् ।

पहिलो दिनको दोस्रो सेसनमा तमु भाषा र साहित्य शीर्षकमा छलफल हुनेछ । यो शीर्षकमा भाषाविद् रत्नबहादुर गुरुङको प्रस्तुति रहनेछ । यसमा सिक्किम भारतबाट मेघराज गुरुङले टिप्पणी गर्नेछन् । 

शनिबार हुने दोस्रो दिनको पहिलो सेसनमा तमु (गुरुङ)हरूको सफलताको यात्राबारे छफफल हुनेछ । यो शीर्षकमा अमेरिकाबाट डा. टोपराज गुरुङ, भारतबाट गोपाल गुरुङ र नेपालबाट लालकुमारी गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

दोस्रो दिनको दोस्रो सेसनमा तमु चलचित्रबारे गुरुङ चलचित्र संघ, नेपालका अध्यक्ष भोजबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसमा नवीन सुब्बाको टिप्पणी रहनेछ । 

तेस्रो दिनको पहिलो सेसनमा विदेशी विद्वानहरूले गुरुङ समुदायबारे आफ्नो धारणा व्यक्त गर्नेछन् । यसमा जापानबाट नानको योसिमोतो, बेलायतबाट साइमान स्ट्रिकल्यान्ड र आलन माकफार्लनले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । 

दोस्रो सेसनमा गुरुङ समुदायको परम्परागत ज्ञान र सीपबारे छलफल हुनेछ । यो शीर्षकमा मानवशास्त्री पोलबहादुर गुरुङ र लिलबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

अन्तिम दिनको पहिलो सेसनमा तमु उद्यमी–व्यवसायी शीर्षकमा छलफल हुनेछ । यो शीर्षकमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, जापानबाट ओम गुरुङ र गण्डकी ट्राउटका लक्षिन गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

त्यसपछिको अन्तिम सेसनमा औपचारिक कार्यक्रमको आयोजना भएपछि दोस्रो अन्तर्राष्ट्रिय तमु (गुरुङ) संवाद सम्पन्न हुनेछ ।

Leave A Reply

Your email address will not be published.