नेकपाका पाँच नेताको आपत्ति – थापा र पौडेलको व्यवहार दु:खद

0

नेपाल कम्युनिष्ट पार्टीको  सांगठानिक एकता सक्ने प्रस्ताव बनाउन गठन भएको समितिका पाँच असन्तुष्ट सदस्यले छुट्टै प्रतिवेदन बुझाएका छन्।  समितिमा सदस्यहरू सुरेन्द्र पाण्डे, बर्षमान पुन, बेदुराम भुसाल,  योगेश भट्टराई  र लेखराज भट्टले आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका हुन्।उनीहरूले संयोजक रामबहादुर थापा र पार्टी महासचिव बिष्णु पौडेल र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कार्यदलको कामलाई गम्भीरतापूर्वक नलिएकाले साझा प्रतिवेदन बनाउन नसकिएको आरोप लगाएका छन्।

‘कार्यदलका सदस्यहरूबाट बैठकहरू लामो समय चलाएर चाँडै काम सकौं भन्ने प्रस्ताव पनि आएका हुन् तर त्यसरी लामो समय दिएर काम सम्पन्न गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान नै दिइएन। कमरेड शंकर पोख्रेलले माघी महोत्सव मनाउन प्रदेशमा जानुपर्ने भनेपछि २०७५ पुस २४ गते पाँच दिनका लागि स्थगित गरिएको बैठक चौध दिनपछि माघ सात गते मात्र बोलाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यस दिन कार्यदलका अधिकांश सदस्यहरूबाट समय घर्कीसकेकोले सहमति हुन नसकेको विषयलाई थाति राखेर अन्य विषयमा छलफल गर्ने तरिका अपनाएर भए पनि काम अगाडि बढाऔं भन्ने धारणा राखिएको थियो। संयोजक कमरेडले आजलाई यत्ति भयो भोलिदेखि छलफल गरौंला, भोलिको बैठकका लागि सल्लाह गरेर खबर गर्छौं भन्दै त्यसदिनको बैठक स्थगित गर्नुभएको थियो। तर त्यो भोलिको खबर हुँदैभएन।’उनीहरूले संयोजक थापा र महासचिव पौडेलले कार्यदलमा घनिभूत छलफल नगर्ने तर सचिवालय बैठकमा कार्यदलले काम गर्न सकेन भन्ने धारणा व्यक्त गर्नु अन्तरपार्टी जनवादका लागि दु:खद भएको बताएका छन्।

‘कार्यदलका सदस्यहरू सबै कार्य सम्पन्न गर्न हरदम तयार हुँदाहुँदै कार्यदलको बैठक नै नबोलाउने तर सचिवालयमा कार्यदलले काम गर्न सकेन भन्ने धारणा व्यक्त गरी कार्यदललाई अधूरो प्रतिवेदन बुझाउन निर्देशन दिने निर्णय गराउनतर्फ लाग्नु सदस्यहरूको मूल भावनाविपरित छ,’ प्रतिवेदनमा भनिएको छ,‘अन्तरपार्टी जनवादको अभ्यास गर्ने हाम्रो पार्टीमा यस खालको व्यवहार हुनु ज्यादै नै दुःखद कुरा हो। यसमा हाम्रो गम्भीर आपत्ति छ।’नेकपाले अहिले दुई तिहाइको सरकार चलाइरहेकाले पार्टी जति व्यवस्थित भयो सरकारले पनि त्यही रूपमा काम गर्न सक्ने बताएका छन्।

‘पार्टीको काँधमा मुलुक बनाउने जिम्मेवारी छ। यति ठूलो र गहन जिम्मेवारी बोकेको पार्टीलाई जति सुव्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ, त्यति नै सरकार सञ्चालनलगायतका कामहरूलाई पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ,‘दश लाखको हाराहारीमा पार्टी सदस्य र पचास लाखभन्दा बढी समर्थक भएको यस पार्टीलाई सुस्पष्ट विधि, पद्धति र मापदण्डका आधारमा बाहेक अरू कुनै पनि तरिकाले चलाउन सकिदैन।’उनीहरूले हजारौंको संख्यामा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको निष्पक्ष मूल्याङ्कन पनि अमुक नेताहरूसँगको सम्पर्क र सम्बन्धका आधारमा गर्न सम्भव नभएकाले  सुस्पष्ट र पारदर्शी मापदण्डका आधारमा मूल्याङ्कन गर्ने वैज्ञानिक प्रणाली स्थापित गर्नुपर्ने सुझाव दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको सांगठनिक एकता प्रस्ताव तयार पार्न स्थायी समितिले गठन गरेको कार्यदल भंग भएको छ।यसअघि फागुन १० गते बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय र कार्यदल सदस्यको संयुक्त बैठकले थापा नेतृत्वको कार्यदल भंग गर्दै सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा सचिवालयलाई दिएको थियो।नेकपाको स्थायी समिति बैठकले गत पुस १३ गते पन्ध्र दिनभित्र पार्टी एकताको संगठनात्मक प्रस्ताव तयार गर्न तथा प्रदेश कमिटीको असंगति मिलाउने गरी प्रस्ताव ल्याउन कार्यदल गठन गरेको थियो।नौ सदस्यीय कार्यदलको संयोजक गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई तोकिएको थियो भने महासचिव विष्णु पौडेल समेत कार्यदलमा सदस्य थिए।

कार्यदललाई सचिवालयका अधिकारको रिभ्यु गर्ने, पार्टीको संगठनात्मक प्रस्ताव तयार गर्ने, पोलिटब्युरो गठन र केन्द्रीय समिति सदस्यको कार्य विभाजनदेखि जिल्ला समितिको गठन र प्रदेश कमिटीमा भएका असंगति मिलाउने गरी प्रस्ताव ल्याउनेसम्मको अधिकार दिइएको थियो। तर, कार्यदलस्तरमा कुरा मिल्न नसकेपछि सचिवालयले हस्तक्षेप गरेको हो।

Leave A Reply

Your email address will not be published.