ज्ञानेन्द्र मल्ल बन्ने बाटो: प्लाइउडको ब्याट, कागज बेरेर बल !

0

विश्व क्रिकेट लिग डिभिजन टू र त्यसपछि विश्वकप छनोट खेलमा रन बनाउन नसकेपछि धेरैले मलाई भने ‘अब केही गर्नुपर्छ है !’ एकदिवसीय खेल्न जानुअघि बारम्बार सुनिरहेँ …

‘यो चाहिँ -तिम्रो) लास्ट मोमेन्ट हो’
‘(आलोचकको) बोल्ती बन्द गरिदिनुपर्छ’
‘यसपालि चाहिँ गर्नुपर्छ है’
मलाई अचम्म लाग्छ । यसपालि गनुपर्छ रे ? अरे ! हरेक चोटी गर्नुपर्छ नि ।

दुईवटा सिरिजमा आफू कमजोर देखिएको मैले पनि महसुस गरेकै हुँ । तर, मान्छेहरु बारम्बार त्यही कुरा सम्झाइरहेका छन् । मैले हरेक पटक त आफूले सक्नेसम्मको राम्रो गर्छु नि… हैन र ? मेहनत त सधैँ उस्तै गरेको छु नि त ।

हरेक पटक नयाँ सुरुवात गर्ने हामी खेलाडीको स्वभाव नै हुन्छ । कुनै बेला रन बन्दैन, बलरले आउट पारिदिन्छन् । हरेक परिस्थिति मेरै नियन्त्रणमा त हुँदैन नि ।

त्यही पनि, प्रश्न उठ्नु राम्रै हो भन्ने लाग्छ । राम्रो गरोस् भनेर नै उनीहरुले भनेका हुन् । तर, प्रश्न ढंगको हुनुपर्छ भन्ने हो ।

तथापि, पिचमा ब्याट समातेर उभिएपछि मेरा मनमा यस्ता कुराहरु आउँदैनन् । हरेक बल कसरी राम्रो खेल्ने भन्ने सोच मात्रै हुन्छ ।

कति कुराको तपाईँ स्वयम् साक्षी हुनुहुन्छ । हेर्नुभएको छ । पढ्नुभएको छ । नेपालले ऐतिहासिक एकदिवसीय खेल्दा नेदरल्याण्ड्सविरुद्ध मैले अर्धशतक बनाएको तपाईँहरुले टीभीकै अघि बसेर भए पनि प्रत्यक्ष हेर्न पाउनुभयो । एकदिवसीयमा पहिलो जितको साक्षी हुनुभयो । हौसला बढाउनुभयो ।

थाहा पाउनुभएकै कुरा त के दोहोर्‍याउनू ।

आज केही पुराना नयाँ कुराहरु भन्छु । हो, ठीक पढ्नुभयो, पुराना तर, नयाँ कुरा । पर्दा पछाडिका कुरा । केही अगाडिका कुरा । तपाईँलाई थाहा नभएका कुरा ।

प्लाइउडमा लिस्टी ठोकेर बनाएको ब्याट, कागज (पत्रिका) पानीमा भिजाएर रबर बेरेर बनाएको बल, च्यात्तिएको विकेट किपिङ प्याड सिलाएको सायद तपाईँले देख्नुभएको छैन । टुँडिखेलमा खेलेर घर फर्केपछि आफैंले स्कोरकार्ड बनाएको पनि शायदै देख्नुभएको होला ।

अझ नयाँ कुरा भनिदिउँ ? ‘अब भएन’ भनेर अस्टे्रलियाका लागि भिसा एप्लाई गरेको पनि तपाईँलाई थाहा छैन । यस्तै कुरा आज तपाइँलाई भन्दै छु ।

***

म काठमाडौंको पुरानो टोल भिमसेनस्थानमा जन्मेर त्यहीँ हुर्किएको । तपाईँहरुलाई नेवारी बस्तीका बारेमा थाहै होला । घरैघरैले घेरिएको बीचमा खुला ठाऊँ । जसलाई हामी बहाल भन्छौं ।

त्यहाँ हामी फुटबल खेल्थ्यौं । केटाकेटी भेला हुने र खेल्ने त स्कूलपछिको नियमित दिनचर्या नै हो । एक दिन सुदिन भन्ने साथीले क्रिकेट खेलौं भनेर सिकाउन थाल्यो । हामीलाई त्यतिबेलासम्म क्रिकेटको बारेमा केही थाहा थिएन । सुनेको त हो तर, कसरी खेल्ने पत्तो नाइँ ।
म सात-आठ वर्षको थिएँ होला । सानो बेलामा नयाँ कुरा जान्न पाउँदा रमाइलो लाग्यो । त्यसमा पनि खेल । खेल्न पाएपछि त के चाहियो र ?

ब्याटले बललाई हानेपछि दौडिन पर्छ । तीन वटा लठ्ठी राखिन्छ, त्यसमा बलले लाग्यो भने आउट हुन्छ । पहिलो दिनकै खेलमा यति कुरा सिकियो ।

प्लाइउड काटेर त्यसमा लिस्टी ठोकेर ब्याट जस्तो बनाएर खेल्न थाल्यौं । त्यो बेला रबरको बलले खेल्थ्यौं । साह्रो रबर बलले प्लाइ फुटिहाल्थ्यो । फेरि प्लाई ल्यायो, त्यसमा लिस्टी ठोक्यो, खेल्यो । हाम्रोमा सबैले सानो बेलामा क्रिकेट सुरु गर्दा यस्तै केही गरे होलान् भन्ने लाग्छ ।

चेप्टो खालको प्लाई समातेर दिनभर खेल्दा हातमा घाउ हुन्थ्यो । त्यसले पनि हामीलाई खेल्न रोकेन । नयाँनयाँ नियम थाहा हुँदै गएपछि नियमित जस्तो चोकमा खेल्न थाल्यौं । त्यसपछि त क्रिकेटको लत नै बस्यो ।

क्रिकेट बाहेक अरु केही भएन । क्रिकेट, क्रिकेट …जतिबेला पनि हामी क्रिकेटमा नै हुन्थ्यौं ।

***

हामी मल्ललाई जुजु अर्थात राजाको पदवी दिइएको हुन्थ्यो । थकु जुजु भनेर दिइएको पदवीका कारण हाम्रो परिवार भिमसेन मन्दिर गुठीको संरक्षक थियो । त्यहाँ नियमित पूजाआजा मिलाउनुपथ्र्यो । पचली भैरवको खड्ग साट्नेदेखि लिएर सबै काम हाम्रै हजुरबा, बाहरुले गर्नुहुन्थ्यो ।

बहाल खेल्न मात्रै होइन, धार्मिक र साँस्कृतिक हिसाबले पनि महत्वपूर्ण हुन्छ । त्यसैले त्यहाँ क्रिकेट खेलेको धेरैले मन पराउँदैनथे । यताउता बल जान्थ्यो । घरमा पस्थ्यो । सिसा फुट्थ्यो । दिनदिनै जसो गाली खाइन्थ्यो ।

गाली खाँदै भए पनि हाम्रो क्रिकेट रोकिएन । हामीलाई साँच्चैको ब्याट समातेर खेल्ने रहर जाग्यो ।

सनिस भन्ने साथीका मामा फर्निचरमा काम गर्नुहुन्थ्यो । फर्निचरमा गएर दिनभर मामासँग कचकच गर्‍यौं । शनिबारको दिन बिहानदेखि बेलुकासम्म उहाँलाई दुःख दिएपछि हामीले ब्याट पायौं । नयाँ ब्याट । गोलो हृयाण्डल भएको साच्चैको क्रिकेट ब्याट । तर, त्यो यति भारी थियो कि के भन्नु । उचाल्नै सकस ।

सकि नसकी खेलियो । अलि पछि मैले घरमा कराएर टेनिस बलले खेल्ने क्रिकेट ब्याट किनाएर छाडेँ ।

त्यसपछि त बहालमा जम्मा भएर क्रिकेट खेल्नेबाहेक अरु काम नै भएन । मेरो घर नजिकै मनिष दाइ हुनुहुन्थ्यो । उहाँ मभन्दा अलि सिनियर हो । एलए स्कूलमा पढ्नुहुन्थ्यो । त्यहाँ क्रिकेट खेल राम्रै हुन्थ्यो ।

मनिष दाइले मलाई बल बनाउने तरिका पनि सिकाइदिनुभयो । पत्रिकालाई पोको पारेर पानीमा भिजायो । त्यसलाई माड्यो र डल्लो बनायो । त्यसको बाहिर उनले बेर्‍यो । अझ बाहिरबाट रबरले कस्यो ।

आर्थिक रुपमा हाम्रो परिवार बलियो थिएन । मेरो बुबाको कमाईले धेरै ठूलो परिवार चलाउन अप्ठ्यारो नै थियो । संघर्षबाट नै हुर्किएका हौँ हामी ।

आफैंले बल बनाउन सिक्नु पहिले, एक/एक रुपैयाँ जम्मा पारेर पाँच/दश रुपैयाँको बल किन्थ्यौं । त्यही बल पनि धेरै दिन टिक्दैन थियो । आफैंले बल बनाउन सिकेपछि थोरै पैसामा काम हुन थाल्यो । उन त आमाले टोपी, मोजा, स्वीटर बुनेर बचेकोले नै काम चल्थ्यो । कतिबेला त भर्‍याङमुनि लुकेर मोजाहरु उधारेर पनि लगेँ । पत्रिकाहरु यसै पाइन्थ्यो । रबर चाहीँ किन्नुपर्थ्यो, एक दुई रुपैयाँमा ।

अलि साह्रो भए पनि त्यो बलले खेल्दा रमाइलो हुन्थ्यो । हामी त्यही शैलीमा राम्ररी नै रमाइरहेका थियौं ।

टोलकै रुसेल दाइहरुले एउटा क्लब चलाउनुभएको थियो । उहाँहरु त बाहिर क्रिकेट खेल्न पनि जाने । खासगरी टुँडिखेलतिर ।

एक दिन हामी बहालमा खेलिरहेका थियौं । उहाँ टुँडिखेलबाट खेलेर फर्किनु हुँदै थियो । हामीलाई देखेर उहाँ पनि खेल्न आउनुभयो । बल देखेर उहाँ त छक्क ! कसरी बनाएको भनेर सोध्नुभयो । मैले पनि ठूलो आविष्कार नै रहेछ भन्ने ठानेर खुसी हुँदै सबै सुनाइदिएँ ।

मेरो बल बनाउने तरिकाले उहाँ पूरै प्रभावित हुनुभयो । त्यसैले यताउता खेल्न जाँदा मलाई पनि लिएर जान थाल्नुभयो ।

त्यसअघि म खेल्न भनेर घर नजिकैको मन्दिर कटेर पर गएको थिइनँ । रुसेल दाइसँग त कहाँ मात्रै पुगिएन । त्यहाँ पनि मेरो काम बल बनाएर लैजाने नै हुन्थ्यो । दाइहरुले ५/६ रुपैयाँ जुगाड गरिदिने, म बल बनाउने ।

एक पटक बनाएको बल खेलिसकेर र्फकंदा घर आइपुग्दैनथ्यो । दाइहरु बल उडाइदिने । बल त कहाँ पुग्थ्यो कहाँ । त्यसपछि फेरि बनाउन परिहाल्यो ।

टोलमा हामीले क्रिकेट टिम नै बनाएर शान्ति निकुञ्ज स्कुलको मैदानमा गएर खेल्न पनि थालेका थियौं । त्यहाँ अरु दाइहरु पनि हुन्थे । सरकारी स्कूल भएकाले त्यहाँको चौर ठूलै थियो । त्यो मरु टोलमा पर्छ । हाम्रो घरबाट गल्लीगल्ली हुँदै गयो भने ठीक त्यही मैदानमा पुगिन्छ ।
अब हाम्रो क्रिकेटले नयाँ गति लियो । हरेक शुक्रबार र शनिबार शान्ति निकुञ्जमा हाम्रो क्रिकेट चल्थ्यो । दाइहरुले ल्याएको ड्यूज बलले त्यहीँ पहिलोपटक खेलियो ।

त्यहाँ म कसरी पुगेँ र पहिलो म्याच कसरी खेलेँ भन्ने पनि रमाइलो छ । एक दिन बहालमा रबर बेरिएको बल लिएर खेल्न जाँदा कोही थिएनन् । सबतिर खोजेँ, चरो मुसो देखिएन ।

एउटा भाइ भेटेँ ।

सोधिहालेँ – अरु खोई त ?

उसले भन्यो – दाइहरु त सबैजना शान्ति निकुञ्जको चौरमा खेल्न जानुभएको छ ।

शान्ति निकुञ्ज कहाँ हो भन्ने मलाई थाहा थियो । म तुफान कुदेर पुगेँ ।

म आएको देखेर रुसेल दाइ पनि खुसी हुनुभयो । ‘ल ल प्याड लगाइहाल’ भन्नुभयो ।
अब पहिलोपटक म प्याड लगाएर क्रिकेट खेल्दै थिएँ । दाइहरुको कुनै प्याड ठीक भए पो । त्यही पनि दाइहरुले नै जसोतसो लगाइदिनु भयो ।

त्यतिबेला हुने भनेको विकेट किपरले लगाउने प्याड नै हो । फित्ता बान्ने खालको । त्यही पनि बानेर मिल्यो ।

चप्पल लगाएर गएको थिएँ । दौडिन अप्ठ्यारो हुन्छ भनेर त्यो पनि फुकालेँ ।

एक जना दाइ आउट भएपछि रुसेल दाइले मलाई जाउ भन्नुभयो । सबै दाइहरुले हौस्याए । ‘जाउ जाउ हानेर आउ । तिमीले एक रन हाने पनि हामीलाई सय रन हाने बराबर हो’ … म पनि जोसिएर गएँ ।

ठूला दाइहरुको अघि नर्भस पनि भइरहेको थिएँ । मन ढुकढुुक भइरहेको थियो । त्यो नै ब्याटिङमा डरको पहिलो अनुभव हो ।

त्यसपछि कहिल्यै डर लागेन । त्यो बेला दाइहरुले मलाई जसरी हौसला दिनुभयो त्यसले नै मेरो डर मारिदिएको हुनुपर्छ । म्याच भनेर खेलेको पहिलो पटक भएर पनि होला मलाई त्यस्तो भएको । खासै मैले के गर्नुपर्ने हो भन्ने धेरै कुरा बुझिसकेको पनि थिइनँ ।

बलिङ गर्ने दाइले पनि शायद मलाई फुच्चे भनेर विस्तारै बल फाल्नुभयो । बल ब्याटमै लागेछ । कसरी हानेँ के हानेँ भन्ने त मलाई थाहा छैन । उताबाट दाइले ‘दौडी… दौडी…’ भन्नुभयो ।

‘दौडी’ भनेको सुनेर केही नसोची म दौडिन थालेँ । तर त्यो प्याड लगाएर दौडिन यति अप्ठ्यारो भयो कि के भन्नु । सिधा हिँड्न पनि गाह्रो भएको बेला जसोतसो दौडिएँ । त्यो २२ यार्डको दुरी मलाई २ सय २२ यार्डभन्दा लामो लागेको थियो । जति दौडिँदा पनि आइपुग्दैन त । धन्न पहिलो म्याचको पहिलो बलमा मेरो जीवनकै पहिलो रन पूरा भयो ।

रन पूरा भएपछि दाइहरुको हुटिङ सुरु भयो । सबै दाइहरुले हुटिङ गर्दै ताली बजाउनु भयो । म असाध्यै खुसी ।

त्यसपछिको बलमा दाइले नै हानेर मलाई रनको लागि बोलाउनु भयो । फेरि उही … दौडी दौडी … ।

भर्खरै बल्लतल्ल दौडिएको म फेरि कहाँ दौडिन सक्नु र । रन आउट भइ हालेँ ।

त्यही दिनपछि शान्ति निकुञ्जमा मेरो नियमित क्रिकेट सुरु भयो । त्यहाँबाट पछि पनि टुँडिखेल र शान्ति निकुञ्ज सधैँजस्तो जान थालियो ।

***

म २००५ मा १५ वर्षमुनिको राष्ट्रिय टिममा परेँ । त्यसपछि १७ वर्षमुनिको टिममा पनि परेँ । त्यही वर्ष १९ वर्षमुनिको टिममा पनि परेँ ।

त्यसपछि पनि बिनोद दाइकै स्कुटरमा बसेरै म कीर्तिपुरसम्म पुग्थेँ । उहाँले पुर्‍याइदिनु हुन्थ्यो र सकिएपछि लिन पनि जानुहुन्थ्यो । मेरा लागि क्रिकेटका दुई विशेष नाममा एक त रुसेल दाइ नै हुनुभयो । अर्को भनेको बिनोद दाइ नै हो । यंङ्गाल क्लबलाई पनि कहिल्यै बिर्सन सक्दिनँ ।
२००५ मा नै राष्ट्रिय टिममा परेको भए पनि म प्लेइङ ११ मा थिइनँ । त्यसपछि २००६ मा नामिबियामा खेल्न जाँदा मैले अवसर पाएँ ।

यू १९ प्लेट च्याम्पियन २००६
त्योअघि २००६ मै उन्नाइस वर्षमुनिको विश्वकपमा पनि हामीले खेलेर आइसकेका थियौं । जुन विश्वकपमा प्लेट च्याम्पियन भएका थियौं ।

यु-१९ मा त्यो मेरो पहिलोपटक बाहिर खेलेको प्रतियोगिता थियो । त्यो बेला प्रशिक्षक रोय लुक डायस हुनुहुन्थ्यो । उहाँसँग नै क्रिकेट राम्ररी बुझ्न र धेरै नै सिक्न पाएका थियौं । उहाँ असाध्यै कडा स्वभावको हुनुहुन्थ्यो ।

एसीसी ट्रफी जितेकाले हामी यू-१९ विश्वकपको लागि छानिएका थियौं । त्यो बेला कनिष्क चौगाइँ कप्तान थिए । हामीले पहिलो खेल इंग्ल्याण्डसँग ७७ रनले हार्‍यौं । दोस्रो खेलमा जिम्बावेसँग दुई रनले हार्‍यौं । त्यसपछि आयरल्याण्डलाई ६० रनले हरायौं ।

अघिल्लो चरण नपुगेपछि प्लेट च्याम्पियन खेल्यौं । प्लेट च्याम्पियनको क्वाटरफाइनलमा युगान्डालाई ६० रनले हरायौं । सेमिफाइनलमा दक्षिण अफ्रिकासँगको खेल भने निकै नै रोचक भएको थियो । टस जितेर हामीले पहिले ब्याटिङ रोजेका थियौं । कनिष्कले राम्रो सुरुवात गरेर ५९ रन बनाए । चौथो नम्बरमा आएर मैले अविजित ४६ रन बनाएको थिएँ ।

हामीले २ सय १५ रनको लक्ष्य दिएका थियौं । दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट जाँदा २ सय १२ रन मात्रै बनाउन सक्यो । त्यो बेला स्पिनरहरु राज श्रेष्ठ, बसन्त रेग्मीले राम्रो बलिङ गरे । सुपर सबको नियम भएकाले शशि केशरी आएर पनि राम्रो बलिङ गरेका थिए । पारस खड्काले पनि मिडियम पेस र अफ स्पिन दुवै बलिङ गर्थे ।

मैले अहिले आएर बुझेँ कि त्यो बेला मैले क्रिकेट राम्ररी बुझेकै थिइनँ । जाने रन हान्ने दौडिने मात्रै थियो । कस्तो बेला कसरी हान्ने, कसरी रन बन्छ, विकेट कसरी लिने भन्ने कुरा पछि मात्रै बुझेको हो ।

सेमिफाइनल खेलमा हामी सबै थाकेर हत्तु भइसकेका थियौं । त्यो बेला फिजियोको व्यवस्था पनि थिएन । कसैलाई के समस्या, कसैलाई के समस्या भइरहन्थ्यो । बु्रफिन खाएर हामी दौडिरहेका थियौं । त्यस्तो अवस्थाबाट फाइनलमा न्युजिल्याण्डलाई हराउँदा पनि हामीले राम्रो गरेकै हो ।

फाइनलमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो । उनीहरुको टिममा मार्टिन गुप्टिल, टिम साउथी, कोलिन मुन्रोजस्ता खेलाडीहरु थिए । हामीले ४९ ओभर २ बलमा २ सय ४ रन बनाउँदा उनीहरुलाई अल आउट बनायौं ।

ब्याटिङमा कम रनमै हाम्रो टप अर्डर ब्याट्सम्यान आउट भइसकेका थियौं । सातौं नम्बरमा आएर प्रेम चौधरीले २६ रन बनाए । बसन्त रेग्मीले आठौं नम्बरमा आएर ७३ बलमै ६६ रन बनाए । हार्न लागिसकेको बेला बसन्त दाइ र प्रेमले नै बल्ल जित्ला कि जस्तो बनाएका थिए । पछि रतन रौनियारले पनि १९ बलमै २६ रन बनाएर जिताए ।

९ विकेट गइसकेको त्यो बेला रतन र राज श्रेष्ठ क्रिजमा थिए । त्यो पनि हाम्रो सधैँको जस्तो अन्तिम ओभरको रोमाञ्चक जित हो ।

रतन र राज किपरको हातमा बल हुँदा पनि दौडिरहेका थिए । हामी सब जना रन आउट हुन्छ भनेर डराइरहेका थियौं । तर रोय सरको अघि भएर कोही बोल्न सकेका थिएनौं । जे होस्, त्यस्तो अवस्थाबाट पनि खेल जित्यौं ।

राम्रो खेलेको भएर श्रीलंकन बोर्डले हामीलाई केही दिन बसेर सिरिज खेल्न पनि भनेको थियो । तर, हामी सबै घाइते नै भइसकेका थियौं । अझै केही दिन खेल्न मुस्किल थियो । यसैले एक म्याच खेलेर हामी फर्कियौं ।

त्यो बेला केही सीमित मान्छेलाई मात्रै नेपालमा क्रिकेट थाहा थियो । अहिले जस्तो कहाँ हुनु । जतिले बुझेका थिए असाध्यै राम्रा थिए दर्शक पनि ।

विश्वकप प्लेट च्याम्पियन भयो भनेर क्यान र खेलकुद परिषदको पहलमा सरकारले बजाजको सिटी १०० बाइक सबै खेलाडीलाई उपहार दिएको थियो । कनिष्क, महेश र बसन्तलाई एउटा संस्थाले पल्सर बाइक पनि दिएको थियो । उनीहरु ब्याटिङ, विकेट किपिङ र बलिङमा प्रतियोगिताकै टप १० भित्रै परेको भएर उपहार पाएका थिए ।

बाइक उपहार त पाइयो तर, आफूलाई चलाउनै आउँदैनथ्यो । बाइक स्टार्टसम्म पनि कहिल्यै गरेको थिइनँ । घरमा के गर्ने भनेर सल्लाह गरेँ । दाइले मेरो बाइक छँदैछ, तेरो बेच । आएको पैसाले केही गर भन्नुभयो ।

मैले उपहार पाएको बाइक बेचिदिएँ । अहिले नबेच्न पर्ने रहेछ जस्तो लाग्छ । त्यो बेला महत्व नै बुझिनँ ।

विश्वकप प्लेट च्याम्पियन भएर आएपछि नै नामिबियासँगको फोर डे म्याचको लागि म पनि राष्ट्रिय टिममा परेको थिएँ । त्यो आईसीसी इन्टरकन्टिनेन्टल कपको च्यालेन्ज म्याच थियो ।
नामिबियामा पहिलो दिन त पानी परेर खेल नै हुन सकेन । दोस्रो दिन खेल भयो । हामीले टस जितेर फिल्डिङ रोज्यौं । अन्तिम ओभरसम्म पुग्दा उनीहरुले राम्रो स्कोर बनाइसकेका थिए ।
त्यो बेला कप्तान बिनोद दास हुनुहुन्थ्यो । उहाँले लास्ट ओभरमा मलाई बोलाएर भन्नुभयो, ‘ल अलिकति सरप्राइज पार्दिम । तिमी दुवै हातले बलिङ गर ।’

त्यो बेला मैले ३ बल दाहिने हातले फालेँ र ३ बल देब्रे हातले फालेँ । दाहिने हातले ३ बल गरेपछि मैले ‘लेफ्ट आर्म राउण्ड’ भनेर कल गरेँ ।

एम्पायरले ‘लेफ्ट आर्म राउण्ड ?’ भनेर अचम्म मान्दै सोधे । ब्याट्सम्यानलाई पनि त्यो बुझ्न केही समय लाग्यो । त्यो अन्तिम ओभरमा मैले ३ रन खाएको थिएँ । खेल बराबरीमै सकिएको थियो ।

***

शान्ति निकुञ्ज जाँदा अरु दाइहरु पनि चिन्न थालेको थिएँ । हाम्रो टोलको दाइहरु खाना खाएपछि जाने गर्थे । म चाहिँ चलाख भएर बिहानै जान्थेँ । बिहान त्यहाँ प्याफलको दाइहरुसँग खेल्थेँ । दिउँसो आफ्नै टोलको दाइहरुसँग । त्यसरी खेल्दै सिक्दै गएँ । हार्ड बलले खेल्ने पनि बानी पर्दै गयो ।

बिहान खेल्न जानेबेला बासँग मागेको पैसाले बाटोमा ग्वारमणि किन्थेँ । बाले कहिले दुई रुपैयाँ कहिले तीन रुपैयाँ दिनुहुन्थ्यो । त्यसैले ग्वारमणि किन्यो र खाँदै गयो ।

हुँदै जाँदा टोलमा क्रिकेटको सबै जिम्मेवारी मलाई नै दिन थालियो । क्रिकेट सामानहरु सबै मैले नै घरमा राख्थेँ । म्याच खेल्न जानुपर्‍यो भने सबै सामान लिएर जाने । बिगि्रएको सामानहरु मै बनाउँथे । प्याडको फित्ताहरु बिगि्ररहेको हुन्थ्यो । ग्लोभ्स बिगि्रन्थ्यो । म आफैं सिलाउँथे । मैले नसक्ने कुराहरु आमालाई कर गरीगरी बनाउन लगाउँथे । आमा गाली गर्दै बनाइदिनु हुन्थ्यो ।

इन्द्रचोक र मख्खनको दाइहरुसँग मिलेर पनि क्रिकेट खेल्न थालियो । रुसेल दाइको मिल्ने साथीहरु थिए त्यहाँ । हामी यंगालको दाइहरुसँग पनि खेल्न थाल्यौँ । त्यहाँ वरिपरि क्रिकेटमा सबैभन्दा राम्रो यंगालकै दाइहरु थिए । कतै खेल्न जानुपर्‍यो भने रुसेल दाइले नै मेरो लागि ठाउँ मिलाइदिनुहुन्थ्यो । ‘मेरो एक जना फुच्चे भाइ छ, भाइलाई खेलाउने भए म पनि आउँछु’ रुसेल दाइले यति भनेपछि मेरो लागि सिट पक्का ।

मान्छे धेरै भएर खेल्न नपाइने ठाउँमा दाइ आफूृ नखेलेर पनि मलाई खेलाउनुहुन्थ्यो । रुसेल दाइ राम्रो खेल्ने हुनाले जहाँ पनि बोलाइ हाल्थे । उहाँले त्यो सबै ठाउँमा मलाई पनि लिएर जान थालेपछि मैले धेरै नै खेल्न र सिक्न पाएँ ।

नजिकैको टोलको दाइहरुले पनि मलाई चिनेर त्यसपछि बोलाउन थाल्नुभएको थियो । त्यो समय हामीले नै टोलमा बनाएको क्लबले टुँडिखेलमा तीन वटा प्रतियोगिता पनि गरेको थियो । पहिलो र दोस्रो प्रतियोगितामा त मैले अवसर नै पाइनँ । त्यो बेला एकदमै सानो भयो भनेर मलाई खेलाएनन् । तेस्रो प्रतियोगितामा भने मैले खेल्न पाएको थिएँ ।

त्यसपछि रुसेल दाइ विदेश जानुभयो । यंगालको दाइहरु पनि त्यो बेलासम्म त मैले राम्ररी नै चिनिसकेकोले नियमित खेल्न गइरहेको थिएँ । शनिबार शनिबार यंगाल क्रिकेट क्लबबाट खेल्न थालेँ ।

त्यहाँ मैले धेरै नै सहयोग पाएँ । उमेर समूहका प्रतियोगिताका लागि छनोट भइरहेको हुन्छ भन्ने कुरा पनि मैले त्यहाँबाट नै थाहा पाएँ । क्लब लेभलको प्रतियोगिताहरु पनि खेल्न थालेँ ।

यंगाल क्लबसँगै क्रिकेटमा मैले बिर्सनै नसक्ने नाम हो, विनोद राजभण्डारी । उहाँ यंगाल क्लबमा मेनेजर हुनुहुन्थ्यो । मैले राम्रो खेल्छ भनेर जहिले हौसला दिनुहुन्थ्यो । कतै कुनै प्रतियोगिताको छनोटको लागि जाँदा मलाई उहाँले आफ्नो स्कुटरको पछाडि राखेर लैजानुहुन्थ्यो । विनोद दाइको होण्डाको त्यो सेतो स्कुटर अहिलेसम्म पनि याद आउँछ ।

त्यो समय मसँग राम्रो ब्याट, प्याडहरु थिएनन् । यंगाल क्लबले नै मलाई खेल्न जाँदा सबै सामानहरु दिन्थ्यो । क्रिकेटलाई अलि राम्रो बनाएर छनोट प्रतियोगिताहरुमा जाने र त्यहाँबाट राष्ट्रिय टिमसम्मको बाटो मलाई यंगाल क्लबले नै देखाएको हो ।

***

दुवै हातले बलिङ कसरी गरेँ भनेर सोच्नुभयो होला । त्यो पनि भन्दिहाल्छु । असाध्यै रमाइलो छ ।

टोलकै मनिष दाइ र म मात्रै पनि बहालमा क्रिकेट खेल्दै बसिराख्थ्यौं । त्यो हामी दुई जनाको टेस्ट म्याच जस्तै पनि थियो । एकजना आठ चोटी आउट हुनुपर्ने, १० चोटी आउट हुनुपर्ने भनेर हामी खेलिरहेका हुन्थ्यौं ।

मनिष दाइ अलि राम्रै खेल्ने । म ठीकै मात्र खेल्थेँ । त्यही भएर हामी खेल्दा मलाई १० विकेट भयो भने मनिष दाइलाई पाँच विकेट हुने गथ्र्यो । त्यसमा पनि मनिष दाइले एकपटक देब्रे हातले ब्याटिङ गर्नुपर्ने भन्ने नियम बनाइयो । मनिष दाइ देब्रे हातले बलिङ पनि गर्नुहुन्थ्यो ।
एक दिन मलाई लाग्यो, दाइले मात्रै देब्रे हातले बलिङ गर्नुहुन्छ, मैले चाहीँ किन नगर्ने त ? त्यसपछि मैले पनि देब्रे हातले बल फाल्न थालेँ ।

म पनि गर्न सक्छु भनेर देब्रे हातले बलिङ, देब्रे हातले ब्याटिङ गर्न थालेँ । हामीले टोलमा खेल्दा बल उडेर घरमाथि गयो भने आउट, गुडेर भित्तामा गयो भने चार रन, उडेर भित्तामा गयो भने ६ रन, ब्याटमा लागेर पछाडि गयो भने २ रन र त्यहाँ नजिकैको भत्केको ठाउँमा गयो भने आउट हुने नियम हुन्थ्यो ।

मनिष दाइ त शनिबार मात्रै खेल्न आउने । त्यही भएर बाँकी दिन अरुसँग खेल्दा पनि दाइलाई आउट पार्छु भनेर म देब्रे हातले नै अभ्यास गरिरहेको हुन्थेँ ।

***

अँ … म राष्ट्रिय टिमको कुरा गर्दै थिएँ । राष्ट्रिय टिममा पुगेपछि पनि धेरै कुरा फेरिएको थिएन । धेरै समय त खेल नै नहुने । प्रतियोगिता वर्षमा एउटा मात्रै हुन्थ्यो । त्यसकै लागि सुरु हुन केही समयअघि हामी क्याम्पमा बस्थ्यौं ।

मेरो घरको आर्थिक अवस्था झनै बिग्रिएको थियो । हामी आफ्नो घर बेचेर कोठा भाडामा लिएर बस्न बाध्य भयौं ।

मेरो पढाइ पनि बिग्रिसकेको थियो । नबिगि्रयोस् पनि कसरी ? क्रिकेटबाहेक अरु केही सोचेको भए पो । अहिले लाग्छ, मैले पढाइ पनि सँगै लैजान सक्नुपथ्र्यो । किन पढिनँ भन्ने भइरहन्छ ।

त्यो बेला क्याम्पमा बसेको दिन २५ रुपैयाँ पाइन्थ्यो । त्यसले के पुगोस । होटलमा खानुपथ्र्यो, पैसा कसरी बचाउने । २००७ पछि त थ्री डे म्याचहरु पनि हुन छाड्यो । खेलको बेला एसीसीले दिने २५ डलरले पनि केलाई मात्र पुग्नु ? एक दुई महिना क्याम्पमा बसेर अरु केही नगरी त खान पनि गाह्रो थियो । घरमा हेर्ने त परको कुरा भयो ।

***

यहाँसम्म आइपुग्न मेरो श्रीमती, त्यसबेला गर्लफ्रेण्ड, ले साथ नदिएको भए सम्भव नै थिएन ।

उनको नाम संगीता महर्जन । उनीसँगका हरेक प्रसंग यादगार छन् । पहिलो यू-१९ टिमको क्याम्पको बेला हामीलाई सोल्टी होटलमा राखिएको थियो । तर, आफ्नै पैसाले खानुपर्थ्यो । अब सोल्टी होटलमा खाना खाने त कहाँबाट सोच्नु । त्यसैले हामी खानको लागि बाहिरको सस्तो होटलमा जान्थ्यौं ।

हामीले खाना खान जाने होटल नजिकै एउटा इन्टरनेट चलाउने ठाउँ थियो । मलाई याद छ, ओल्ड वाइड कम्युनिकेसन भन्ने हो त्यो साइबर । त्यहाँ हामी दिउँसो फुर्सद हुँदा जान्थ्यौं । त्यो बेला इन्टरनेट चलाउने, च्याट गर्ने जस्ता कुराहरु भर्खर भर्खर सुरु भएको थियो ।

हुन त म केटीहरुसँग अलि लजाउने खालकै केटा हुँ । बोल्दै बोल्दैनथेँ । तर, त्यो बेला खै के भएर पो आँट आयो । त्यो पसलमा दुई दिदी बहिनी थिए । बहिनीसँग आँट गरेर मैले आइडी मागेँ ।
त्यसपछि सुरु भयो हाम्रो च्याट । सुरुमा उनलाई मैले क्रिकेट खेल्छु भन्ने पनि थाहा थिएन । धेरै पछि मात्र थाहा भएको हो । नेपालले जित्दै गएपछि र अरु टिम पनि नेपालमा खेल्न आएपछि बल्ल उनको दिदीले मलाई सोध्नुभयो – तपाइँ क्रिकेट टिममा हुनुहुन्छ हो ?

मैले ‘अँ छु’ भनेँ ।

उहाँले भन्नुभयो – फोटोमा देखिँदैन त ।

जर्सीमा अली अर्कै देखिने हुँदा उहाँले खासमा मलाईर् नचिन्नु भएको रहेछ । पछि मैले बुझाएपछि चिन्नुभयो । उनको तीन दिदीहरुसँग नै मैले चिनजान गरेँ । विस्तारै हामी सहज हुँदै गयौँ ।

हाम्रो लभ परेको घरतिर सबैलाई थाहा थियो । भविश्यमा के गर्ने भन्ने चिन्ता उनको परिवारले पनि लिएका थिए । जुन स्वभाविक पनि हो । आय आर्जनको कुनै स्रोत नै थिएन ।

त्यस्तोमा सबैले मलाई सहयोग नै गरेका हुन् । त्यसका लागि म भाग्यमानी हुँ ।

आखिर मैले हेर्ने भनेको मेरो परिवार नै हो । क्रिकेटबाट केही आम्दानी थिएन । त्यसैले यहाँ केही भएन भने अब विदेश नै जानुपर्छ भन्ने सल्लाह भयो ।

संगीता पढिरहेकी थिइन् । अस्ट्रेलिया जाने कुरा भयो । त्यता म कुनै क्लबबाट भए पनि क्रिकेट खेल्न पाउँछु भन्ने आशा थियो । हामीले अस्ट्रेलियामा पाँच वर्षजति बसेर नेपाल र्फकने भनेर सल्लाह गरेका थियौं ।

२०११/१२ तिर मैले डिपेन्डेन्टमा अस्ट्रेलिया एप्लाई गरेँ । सबैजना नै मलाई सहयोग गरिरहनु भएको थियो । त्यो बेला कोच पुबुदु दासानायकेसँग पनि मैले सल्लाह गरेको थिएँ ।

मेरो सानो दिदीले पनि मलाई त्यो बेला धेरै सहयोग गर्नुभएको हो । हामी घरमा उहाँलाई बिजेश्वरी भन्छौं । उहाँको बाहिर बोलाउने नाम सबिना हो ।

हामी डेरामा बस्न थालिसकेका थियौं । ठूलो दाइ गुठी चलाउनुपर्ने भएकोले त्यहीँ नजिकै बस्न थाल्नुभयो । ठूलो दाइसँगै बा बस्नुभयो । माइला दाइ पनि म आफ्नै काम गर्छु नि त भनेर बाहिर बस्न थाल्नुभयो । अब मेरो पालो आयो । म के गर्ने कहाँ जाने भन्ने केही थाहा थिएन । सानो दिदीले मलाई उहाँकोमा बोलाएर राख्नुभयो । उहाँकोमा बसेरै अस्ट्रेलिया जाने एप्लाई गर्न थालेँ ।

अब यसलाई लक्की भन्ने कि अनलक्की भन्ने मेरो भिसा रिजेक्ट भयो । एक हिसाबले खुसी पनि लाग्यो । एक हिसाबले दुःख पनि ।

खुसी यस अर्थमा लाग्यो कि, मैले नेपालमै केही गर्न पाउने भएँ । मलाई नेपाल छाडेर नजा नै भनेको हो भन्ने भयो ।

तर, अब यहाँ के गरेर जिविका चलाउने त भनेर चाहीँ चिन्ता लाग्यो । मैले अगाडि के गर्छु भन्ने नै थाहा थिएन । श्रीमती अस्ट्रेलिया गइसकिन् । उनलाई के भन्ने ? के गर्ने भन्ने पनि भयो । उनलाई फेरि यहीँ बोलाउनु पर्नेभयो । पुबुदु सरसँग कुरा हुँदा यहाँ हुँदासम्म खेल न भन्नुभएको थियो ।

टर्निङ प्वाइन्ट चाहीँ त्यसपछि हामीले डिभिजन फोर जित्यौं । डिभिजन थ्री जित्यौं । एसीसी ट्रफी जित्यौं । सिनियर टिम पनि राम्रो हुँदै गयो । टी-ट्वान्टी विश्वकप पनि खेल्यौं ।

पुबुदु सरले पनि खेलाडीहरुका लागि लड्न थाल्नुभयो । खेलाडीहरुको सुविधाको लागि कुरा उठाउनुभयो । विस्तारै राम्रो जाने लक्षणहरु देखियो । हुँदै पनि गयो । त्यही कुराले हामीमा आत्मविश्वास बढ्दै गयो । नेपालको क्रिकेटमा परिवर्तन ल्याउने कामको सुरुवात उहाँले नै गर्नुभएको हो ।

अहिले आएर म भन्न सक्छु, क्रिकेट खेलेर मेरो जिन्दगी राम्रो भएको छ । अरु तिर लागेको भए सायद यति राम्रो हुन सक्ने थिएन ।

आफूलाई अप्ठ्यारो हुँदा सोच्ने गर्छु, अरुहरुलाई कस्तो कस्तो समस्या छ । दुई छाक खानको लागि पनि धौ छ । हामीलाई त त्यस्तो समस्या छैन नि भनेर सन्तोष मान्छु । विश्वकप खेल्ने, लड्र्समा गएर खेल्ने, एकदिवसीय खेल्ने यो सबै कुराहरुले सन्तुष्ट बनाएको छ । योभन्दा ठूलो कुरा मेरो जीवनमा अरु के हुन सक्ला र ? सबैको माया, साथ र सहयोग पाउनु सानो कुरा होइन ।

***

मेरो माइला भिनाजुको पुस्तक, पत्रपत्रिका बेच्ने पसल थियो । पहिलेदेखि नै केही खेल हुँदा पत्रिकामा मेरो नाम आयो कि भिनाजुले कटिङ ल्याएर दिने गर्नुहुन्थ्यो । नाम आएपछि तिम्रो नाम आयो भनेर सुनाउनुहुन्थ्यो ।

रमाइलो त के भने, सुरुमा यू-१५ को छनोटको बेला हो । म छनोटमा गएको भन्ने त भिनाजुलाई थाहा थियो । छनोट भएर पत्रिकामा नाम आएपछि भिनाजुले खोज्नुभएछ ।

दिदीलाई भिनाजुले भन्नुभएछ- भाइ खेल्न गएको भनेको होइन, खै त पत्रिकामा नाम नै छैन त ।

दिदीले ‘छ नाम किन नहुनु’ भनेपछि भिनाजुले एउटा मल्ल त छ, तर के पो मल्ल छ भनेर पत्रिका पल्टाउँदै … ज्ञानेन्द्र मल्ल भन्ने मात्रै पो छ त भन्नुभएछ ।

बल्ल दिदीले बाहिर बोलाउने उसको नाम नै ज्ञानेन्द्र हो नि भनेपछि भिनाजुले पत्रिकाको कटिङ राखिदिन थाल्नुभयो । घरमा मेरो नाम भिम हो । भिनाजुलाई ज्ञानेन्द्र भन्ने थाहा थिएन । घर टोलतिर सबैले ‘भिम’ भनेरै चिन्छन् । मलाई पनि भिनाजुले लेमिनेसन गरेर राख्दिनुभएको त्यो कटिङहरु खुबै राम्रो लाग्छ । म आफैंलाई पनि केही कुरा राख्न रमाइलो लाग्छ ।

कतिसम्म भने म पहिलादेखि टुँडिखेल, शान्ति निकुञ्जमा म्याच खेलेर आउँदा कति बलमा कति रन बनाएको भनेर आफंैले लेखेर राख्थेँ । बोर्डमा लेख्थेँ .. यति म्याच, यति रन, यति विकेट, एभरेज यति भयो ।

त्यो बेला कस्तो भने टिभीमा हेर्दा … सचिन तेन्दुलकर आयो, यति म्याच खेल्यो, यति शतक, यति रन, यति एभरेज भनेर देखाउँदा आफूलाई पनि त्यस्तै आँकडा राख्न मन हुन्थ्यो । कति कुरा अझै मसँग छन् ।

जति सुकै कठीन समयमा पनि मेरो घरमा होस् वा आफन्त कतै कसैले पनि क्रिकेट नखेल भनेर कहिल्यै भन्नुभएन । जति सकिन्छ सहयोग नै गर्नुभयो ।

सानो बेलादेखि नै मैले दिनमा १० चोटी बालाई ‘बा … ढेवा’ भनेर माग्दा जति सकिन्छ दिनु भयो । क्रिकेट खेलेर के हुन्छ भनेर कराउँदै भए पनि बुबाले सकेको पैसा दिनुभयो ।

कोठाभित्र होस्, कौसीमा होस्, चोकमा होस् जहाँ पनि मेरो काम क्रिकेट खेल्ने थियो । क्रिकेट हामी जस्तोका लागि होइन भनेर बाले गरेको गाली क्रिकेटलाई गर्नुभएको पनि होइन । मलाई गर्नुभएको पनि होइन । मेरो भविष्य के होला भनेर गर्नुभएको चिन्ता थियो जस्तो लाग्छ ।

मेरो जस्तै देशका अन्य बाहरुको सोच पनि त्यही नै हो । भविष्य भएको कुरामा सन्तान लागुन् । अब क्रिकेटमा पनि बाहरुले आश गर्न मिल्ने त्यस्तै भविष्य देखिँदैछ ।

Leave A Reply

Your email address will not be published.