सशस्त्र प्रहरी काठ तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा

0

धनकुटा — तत्कालीन सशस्त्र प्रहरी बल अरुण गुल्म (हालको ४ नम्बर गुल्म) संखुवासभा चैनपुरको सवारी साधनमा सखुवाको काठ तस्करी प्रकरणकाे अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

काठ तस्करीमा प्रयोग गरिएको सशस्त्र प्रहरी चैनपुरको बा १ ग १६६९ नम्बरकाे ट्रक धनकुटा डिभिजन वन कार्यालयमा नियन्त्रणमा राखिएको अवस्थामा । तस्बिर : रमेशचन्द्र अधिकारी / कान्तिपुर

गत जेठमा सशस्त्रको बा १ ग १६६९ नम्बरको ट्रकमा राखेर लैँजादै गरेको सखुवाको काठ तस्करी प्रकरण तीन महिनाको अनुसन्धानपछि अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।

हालसम्म वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सशस्त्र प्रहरीको छानबिन समिति र गृह मन्त्रालय गरी चार निकायबाट घटनाबारे अनुसन्धान तथा छानबिन समिति गठन गरिएका छन्। जसमध्ये डिभिजन बन कार्यालय धनकुटाले शिवशंकर ठाकुरको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले गहिराइमा पुगेर घटनाबारे छानविन गरिरहेको जनाइएको छ।

घटनामा संलग्न ‘मुख्य व्यक्ति’ भनिएका सशस्त्र प्रहरी चैनपुरका तत्कालीन डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको थियो। यसैबिच उनलाई गृह मन्त्रालयले सरकारी सेवामा भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको स्रोतले जनाएको छ।

ती मध्ये चालक प्रहरी जवान दिपेन्द्रकुमार कर्मकार गत साउन २३ मा पक्राउ परेका छन्। घटनामा संलग्न भएको भनिएका चार जना मध्ये तीन जना सम्पर्कमा आइसकेको वन कार्यालय स्रोतले जनाएको छ।प्रहरी जवान विनोद कट्टेल र मिलनकुमार राई सोमबार (भदौ ११) मा वन कार्यालयमा हाजिर भएका छन्।

मुख्य अभियुक्त भनिएका सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारी वनको अनुसन्धान टोलीको सम्पर्कमा आएका छैनन्। उनलाई हाजिर हुन सात दिनको म्यादसहित पत्राचार गरिएपनि हालसम्म सम्पर्कमा नआएको जनाइएको छ। यसैबिच गत भदौ ५ गते सशस्त्र प्रहरीको बाहिनी तथा गृह मन्त्रालयमा इमेलमार्फत भण्डारीलाई हाजिर हुन पत्रचार गरिएको अनुसन्धान अधिकृत ठाकुरले जानकारी दिए।

‘हामी घटनाको अनुसन्धानको अन्तिम अवस्थामा पुगेका छौं,’ उनले भने, ‘एउटै घटनामा चार वटा निकायबाट छानबिन समिति गठन गरिएकाले किनारामा पुग्न केही ढिलाई भएको हो।’ सोमबार सम्पर्कमा आएका राई र कट्टेलले घर बिदामा जानेक्रममा तस्करीमा प्रयोग गरिएको सवारी साधनमा रहेको बयान दिएका छन्।

उक्त घटनामा संलग्न चार मध्ये तीन जना सम्पर्कमा आएको र मुख्य व्यक्ति डिएसपी भण्डारीमात्र हाजिर हुन बाँकी रहेको उनले बताए। तस्करीमा प्रयोग गरिएको बा १ ग १६६९ नंबरको ट्रक डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।

उनले चैनपुरको सिस्ने सामुदायिक वनले सशस्त्रको टहरा बनाउन उपलब्ध गराएको भनिएको काठ संखुवासभा, तेह्रथुम र धनकुटाका सुरक्षा पोष्ट पार गर्दै धनकुटाको मुलघाट पुग्नेक्रममा गत जेठमा नियन्त्रणमा लिइएको थियो।यसैगरी डिभिजन वनका प्रमुख कृष्णप्रसाद वस्तीले पनि अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएका छन्।

सशस्त्रको ट्रकमा राखेर धनकुटाहुँदै विराटनगरतर्फ करिब सात लाख मुल्य पर्ने एक सय क्वीविक फिट बढी सखुवाका काठ तस्करी गरिएको थियो। अन्य जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्रको मुलघाटस्थित चेक पोष्टले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बल अरुण गुल्मको सवारी साधनमा अवैध रुपमा सखुवाको काठ तस्करी गरिएकोबारे तत्काल सशस्त्र प्रहरी बल पकलीस्थित वाहिनीका एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.