पुतलीबजारमा नगर सफाइ केन्द्र बनाइने

0

स्याङ्जा : नगरपालिकामा प्रमुख समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापन गर्न पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान पुछारको भागमा सफाइ केन्द्र निर्माण गरिने भएको छ। नगरपालिका घोषणाको २० वर्ष पुग्दा पनि फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। स्थानीय जनप्रतिनिधि आएको करिब डेढ वर्ष पुग्यो। अझैं पनि आँधीखोलाका किनारमा नगरका फोहोर थुपारिँदै आएको छ।

पाँच रोपनी क्षेत्रफलमा निर्मित सफाइ केन्द्र देशकै उत्कृष्ट नमुना संकलन केन्द्र बनाउने नगरपालिकाको लक्ष्य छ। पुतलीबजार नगरपालिकाले सफाइ केन्द्र निर्माणको टेन्डर स्वीकृत भइसकेको जनाएको छ। करिब ३२ लाख रुपैयाँको लागतमा निर्माण गरिने सफाइ केन्द्रमा मेसिनरी वाल र पिलर, पाटेसनसहितका कोठा र टिनका छाना छाइने छ।

यसैगरी, केन्द्रको बाहिरी सुरक्षा तथा घेरबारका लागि नगरपालिकाले ५० लाख रुपैयाँ यसवर्ष छुट्टाएको नगर प्रमुख सीमा क्षेत्रीले जानकारी दिइन्। ‘नगरबाट उठ्ने कुहिने र नकुहिने फोहोरबाट लिचेड ग्यास र दुर्गन्ध न्यूनीकरण गरी स्थानीय वातावरणलाई स्वच्छ बनाइने, फोहोरबाट आर्थिकोपार्जन गर्ने र कम्पान्ड भित्र हरियाली बगैंचासहित मौरीपालन गर्ने लक्ष्य रहेको प्रमुख क्षेत्रीको भनाइ छ।

‘वरपर हरियाली रंगीचंगी फूलहरुका बगैंचासहित मह उत्पादन केन्द्र पनि बन्नेछ’, इन्जिनियर सन्तोष थापाले भन। नगरपालिकाले सोचे अनुरुप सफाइ केन्द्रको निर्माण भएमा सफाइ केन्द्रमाथि बसेर कफी खान सकिने कल्पना गरिएको छ। नगरको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन कार्यलाई व्यवस्थित बनाउने र आउँदो २ वर्षभित्रमा सफाइ केन्द्र निर्माण पूरा गर्ने उपप्रमुख महेश पुरीले बताए। ‘नगरको फोहोरलाई कुहिने, नकुहिने, सिसा, फलाम, प्लास्टिक, धातु लगायतलाई छुट्टाछुट्टै बाकसमा राखेर ती फोहोरलाई प्रशोधन अर्थात व्यवस्थापन गरिने छ’, पुरीले भने।

‘नजिकै रहेको मानवबस्ती, सामुदायिक क्याम्पस र खेलमैदानमा फोहोरको दुर्गन्धले प्रभावित पार्न नहुने उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदीले बताए। मालेबगर खेलमैदानमा संचालन हुँदै आएका फुटबल, भलिबल, क्रिकेट लगायतका खेललाई आवश्यक पर्ने मापदण्ड नबिग्रने गरी केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिए।विगतका वर्षमा वीरेन्द्र सिल्ड प्रतियोगिता भएको र सदरमुकामको गहनाको रुपमा रहेको मालेबगरको संरचना बिगार्न नहुने स्थानीयबासीको भनाइ छ।

पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान १ सय ४७ रोपनी क्षेत्रफलमा फैलिएको र ती मध्ये १ सय २० मीटर लम्बाई र ७० मिटर चौडाइ फुटबलका लागि छुट्टयाएर सफाइ केन्द्र निर्माण गरिने भएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर मल्लले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.