पछि उमेर ढल्किन्छ, फेरि काल पल्किन्छ

0

सुटिङ रिपोर्ट : छक्कापन्जा–३
नवलपुर : दीपकराज गिरी आफ्ना साथीहरू जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबूढा’ र बुद्धि तामाङ ‘हैट’सँग मिलेर नायिका दीपिका प्रसाईलाई बिहेका लागि फकाउँदै थिए । पछिल्लो समय ख्यातिमा रहेका हास्य कलाकार शेरवानीमा सजिँदा नौलो देखिएका थिए ।झिलिमिली सजाइएको गाडी र राजाको बाइक । चर्को घामको परवाह नगरी हातमा लौरो लिएर भन्दै थिए ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ ।’ आफूले मन पराएकीलाई बिहेका लागि राजी गराउन गिरी कोसिस गर्दै थिए । ‘पावर पुगेन है, अझै इनर्जी चाहियो’, क्यामेरापछाडि रहेकी निर्देशक दीपा श्री निरौला कलाकारलाई निर्देशन दिँदै थिइन् ।

बिहेका लागि गाडी सजाइएको थियो । समथर भूमाग अनि फराकिलो हरियो धानको फाँटमा बिहेको माहोल देखिने रमणीय वातावरणमा चलचित्र ‘छक्कापन्जा–३’को गीत सुटिङ हुँदै थियो । नवलपुरको कावासोती नगरपालिका–१४ स्थित अग्यौलीमा गरिएको सुटिङमा चलचित्रको युनिट रमाएको थियो । चलचित्रको पर्दामा देखिएका कलाकार हेर्न स्थानीयवासीको भीड लागेको थियो । दसंैमा प्रदर्शन हुने चलचित्रको दोस्रो गीतको छायांकन गर्न निर्देशक निरौलासहितको टोली नलवलपुर पुगेको हो ।

संगीतकार अर्जुन पोखरेलको शब्द र संगीतमा स्वयं पोखरेल र दीपा श्री निरौलाको आवाज रहेको ‘बजाएर बाजा’ गीतको सुटिङ गरिएको हो । दर्शकको मुखमा झुन्डिने खालको गीत बनेको भन्दै निर्देशक दीपा श्री निरौलाले लोकप्रिय हुने दाबी गरिन् । उनका अनुसार प्रचारप्रसारबाहेक चलचित्रको बाँकी सबै काम पूरा भएको छ । ‘मायामा हुने रियल कुरालाई यो गीतबाट खोल्ने प्रयास गरेका छौं ’, उनले भनिन्, ‘यसपटक फिल्ममा सबैको घरआँगनमा भएका विषयवस्तुलाई उठाएका छौं ।’

नवलपुरको बिहेका लागि जन्ती लिएर आएको दृश्य देखाउन खोजिएको छ । गीतका लागि पर्यटकीय स्थल चौधरी उद्योग ग्रामको शाश्वतधाममा पहिलोपल्ट सुटिङ गरिएको छ । तीन दिन लगाएर गीतको छायांकन सकिएको छ ।हास्य विधामा कहलिएका कलाकारलाई नृत्य निर्देशक कविराज गहतराजले नचाएका छन् । करिब चार मिनेटको गीतमा आफूले फरक स्वाद दिन लागेको उनले बताए । ‘हास्य कलाकारलाई सुहाउँदो स्टेप बनाएको हुनाले आफंैलाई रमाइलो लाग्छ’, गहतराजले भने, ‘चर्को गर्मी सहेर गरेको दुःख गीत सफल भएपछि बिर्साउँछ ।’

छक्कापन्जा–३ को यसअघि नै सार्वजनिक भएको ‘पहिलो नम्बरमा’ गीतले युट्युबमा राम्रो दर्शक पाएको छ । छक्कापन्जा–३ को दोस्रो गीतमा हास्य कलाकार मात्रै समावेश गरिएका छन् । ‘गर्मी भए पनि कामले त्यसको अनुभूति भएको छैन’, कलाकार जितु नेपालले भने, ‘अरू बेला आआफ्नै कार्यक्रममा व्यस्त हुने सबै हास्य कलाकारलाई सुटिङले एकै ठाउँमा ल्याउने भएकाले पनि रमाइलो हुन्छ ।’

Leave A Reply

Your email address will not be published.