निर्मला हत्याकाण्डः एसपी निलम्बनपछि अनुसन्धान नयाँ मोडमा, कर्फ्यू कायमै

0

महेन्द्रनगर : सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याका सम्बन्धमा शून्यबाटै अनुसन्धान सुरु गरेको छ ।

समितिले शनिबारदेखि घटनाको अनुसन्धान प्रक्रिया सुरु गरेको हो । शनिबार जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकायसँग सर्वदलीय र सर्वपक्षीय छलफल गरेर घटनाबारे जानकारी लिएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका सम्बन्धमा समितिले आफ्नो काम थालेको जानकारी दिए ।

‘सरकारले दिएको टीओआरमा रहेर हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौं’, उनले भने, ‘घटनाको अहिलेसम्मको अनुसन्धानका विषयमा समेत हामीले बुझ्दै काम अघि बढाएका छौं ।’ उनले समितिलाई प्राप्त अधिकारमा रहेर घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गरिने बताए ।

समितिले यसअघि शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसी नेतृत्वको अनुसन्धान टोलीसँग अहिलेसम्मको अनुसन्धानबारे छलफल गरेको छ । ‘अनुसन्धान क्रममा कसैलाई छाडिने छैन,’ उनले भने, ‘हामी म्यान्डेट लिएर आएका छौं, सत्यतथ्य छानबिन गरेरै बाहिर सार्वजनिक गर्छौं ।’

प्रहरी प्रमुख एसपी कुबेर कडायतका अनुसार निर्मला पन्त साउन १० गते आफ्नी साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएको अवस्थादेखि यताको अनुसन्धान सुरु गरिएको बताए ।प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनीलाई पक्राउ गरेर शून्य अवस्थाबाटै अनुसन्धान सुरु गरिएको जनाएको छ ।

उनले रोशनी बम र उनकी दिदी अनिता बम दुवैलाई पक्राउ गरेर शून्य अवस्थाबाटै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । ‘उनीहरूलाई पक्राउ पुर्जी दिएर हामीले नियन्त्रणमा लिई अनुसन्धान थालिसकेका छौं’, एसपी कडायतले भने, ‘आइतबार म्याद थपेर थप अनुसन्धान अघि बढ्नेछ ।’ बालिका पन्तका परिवार र स्थानीयले रोशनी र उनकी दिदीलाई नै नियन्त्रणमा लिएर त्यही घरबाटै अनुसन्धान सुरु गर्नुपर्ने पहिलेदेखि नै माग राख्दै आएका थिए ।

एसपी कडायतका अनुसार अनुसन्धान क्रममा यसअघि भएको अनुसन्धानमा कहाँ के कति कमजोरी भएको छ त्यसको पनि अनुसन्धान हुने बताए । उनले भौतिक सबुत प्रमाण, घटनास्थलदेखि सबै कुराको अनुसन्धान हुने बताए ।

Leave A Reply

Your email address will not be published.